
काठमाडौं, असोज १८। बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ ।
कञ्चनपुरको महेन्द्रनगर-२ की २९ वर्षीया सुत्करीको उपचारका क्रममा आज बिहान ४ः३० बजे मृत्यु भएको कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन् ।
उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । उनले कैलालीको धनगढीस्थित सेती अस्पतालमा अपरेसन नगरी जुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।उनी गर्भवती भएदेखि नै रक्तश्राव हुँदै आएको र सुत्केरी भएपछि पनि उच्च रक्तश्राव भएको थियो । त्यसपछि उनको
पाठेघरको अपरेसनका साथै ८ पोका होल रगत र ४ पोका प्लेटलेट रगत दिइएको थियो ।
रगत चढाई उपचार गर्ने क्रममा पीसीआर जाँच गर्दा उनमा कोरोना पुष्टि भएको थियो । त्यसपछि यही असोज १५ गते उनलाई नेपालगज मेडिकल कलेज भर्ना गरिएको थियो । तर उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
योसँगै बाँकेमा बाहिरी जिल्लाबाट आई उपचार गराएका ९ संक्रमितको मृत्यु भएको नेपालगञ्ज मेडिकल कलेजले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।