
काठमाडौं, असोज १९। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प कोरोनाद्वारा संक्रमित छन् र हाल उनी ह्वाइट हाउसभन्दा टाढा वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा भर्ना छन् ।
तर आइतबार सबैलाई चकित बनाउँदै उनी अस्पताल बाहिर भएका आफ्नो समर्थकलाई भेट्न पुगे र हात हल्लाएर सबैको अभिवादन गरेका छन् ।
संक्रमित भएको व्यक्ति सुरक्षित भएर बस्नुपर्ने भएपनि बाहिर निस्कनु गलत भएको भन्दै आलोचना भइरहेको छ ।हुन त सोसल मिडियामा सक्रिय हुनेहरुलाई थाहा थियो कि राष्ट्रपति आइतबार अस्पतालबाट बाहिर निस्कनेछन् ।
वास्तवमा ट्रम्पले उक्त ‘सरप्राइज भिजिट’ बारे ट्वीटरमा जानकारी दिएका थिए ।
ह्वाइट हाउसले भने डाक्टरहरुको स्वीकृतिमा राष्ट्रपति ट्रम्प केहीबेरका लागि गाडीमा बाहिर निस्किएको बताएको छ । तर स्वीकृति दिने डाक्टर को हुन् भन्ने बारे नखुलाइएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
संक्रमित भएर स्वास्थ्यमा समस्या देखिएपछि रेमडेसिभिसहितका औषधि दिइएका तथा अक्सिजन लेभल पनि कम भएका ट्रम्पले गुप्तचर सेवाको गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेका हुन् । गाडीमा रहेका उनले मास्क मात्रै लगाएका थिए । एजेन्सी