काठमाडौं, असोज २० | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट संक्रमित भएपछि उपचाररत् अवस्थामा रहेकै बेला नाटकीय रुपमा ह्वाइटहाउस फर्किएका छन् । यति मात्र नभएर उनले ह्वाइटहाउस पुग्नासाथै बाल्कोनीमा फोटो खिचाउनका लागि मास्क खोलेर सबैलाई हात हल्लाएर अभिवादन गरेका छन् ।
ट्रम्पले आउँदो महिना हुने चुनावको प्रचार अभियानमा छिट्टै जोडिने बताए । अस्पतालबाट छोटो हेलिकोप्टर उडानमार्फत् ह्वाइट हाउस पुगेका ट्रम्पको त्यहाँ पनि उपचार जारी रहने चिकित्सकहरूले जनाएका छन्। त्यसअघि ट्रम्पले ट्वीट गर्दै भनेका थिए, साँच्चिकै राम्रो महसुस भइरहेको छ। कोभिडसँग नतर्सिनुस्। ह्वाइट हाउस पुगेपछि उनी एक्लैको तस्बिर खिचिएको छ।
जहाँ सैनिकले जस्तो अभिवादन गर्नुअघि उनले मास्क फुकालेको देखिन्छ। किनकि संक्रमित भएदेखि उनले थुप्रैपटक विवादास्पद बयान दिइरहेका छन् ।साथै उनले अस्पताल छाड्नु केहीबेर अघि राष्ट्रपतिले छिट्टै चुनावी अभियानमा फर्किने विश्वास व्यक्त गरेका छन्। ट्रम्पले त्यसअघि ट्वीट गर्दै रोगबाट नडराउन आग्रह गरेका छन्। उनले भनेका छन्, हामीले ट्रम्प प्रशासन अन्तर्गत साँच्चिकै राम्रो औषधी र ज्ञानको विकास गरेका छौँ, मैले २० वर्षअघिभन्दा राम्रो महसुस गरिरहेको छु।
ह्वाइटहाउसका फिजिसियन, डाक्टर सिन कोलेले सोमबार दिउँसो ट्रम्प पूर्ण रुपमा भाइरसबाट उम्किसकेका छैनन् भन्ने जानकारी दिएका थिए । तर पनि उनको मेडिकल टिमले उनको अवस्थामा सुधार आइरहेकोबारे भने स्वीकार गरेको छ । उनलाई सुरक्षित रुपमा घर फर्किन पनि सहमति जनाएका हुन् जहाँ उनी चौबीस घण्टा विश्वस्तरीय मेडिकल केयरको रेखदेखमा हुने बताइएको छ । -बीबीसी







