काठमाडौं,असोज २६ | लोक सेवा आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड ल्याएको छ।
कोरोना संक्रमण भएको व्यक्तिले लोक सेवा आयोगले लिने परीक्षा दिन नपाउने भएको छ। आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गर्दै कोभिड-१९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको हो। उक्त मापदण्डमा परीक्षार्थीमा कोरोना संक्रमण भएको भए परीक्षा केन्द्र प्रवेश गर्न नहुने उल्लेख छ। सरकारले कोरोना महामारीकै बेला आयोगलाई परीक्षा सञ्चालन गर्न स्वीकृति दिएपछि यस्तो मापदण्ड बनाइएको हो। आयोगको परीक्षा दिनका लागि परीक्षार्थी आफू संक्रमित भए/नभएको स्वयंले घोषणा गर्नुपर्नेछ।
आयोगबाट सञ्चालन हुने प्रयोगात्मक/सीप परीक्षण सम्बन्धी परीक्षा, अन्तर्वार्ता, सामुहिक छलफल, प्रस्तुतीकरणलगायतका कार्य सञ्चालन गर्दा समेत स्वास्थ्य सुरक्षासँग सम्बन्धित विषयमा यस मापदण्डको पालना गर्नुपर्नेछ। उक्त मापदण्डको पालना नगरेको खण्डमा प्रचलित कानून बमोजिम कारवाही हुने समेत आयोगले जनाएको छ। सरकारले नयाँ विज्ञापन खुलाउन तथा रोकिएका परीक्षा सञ्चालन गर्न आयोगलाई सैद्धान्तिक सहमति दिइसकेको छ। सोही आधारमा आयोगले परीक्षाको तयारी थालेको हो।