काठमाडौं, कात्तिक १५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबीच संवाद सुरु भएको छ। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच ११ दिनपछि भेट वार्ता सुरु भएको हो।
गत कात्तिक ४ गतेपछि दुई अध्यक्षबीच शनिबार भर्खरै बालुवाटारमा छलफल सुरु भएको हो।
नेकपाका दुई अध्यक्षबीच विगत ११ दिनयता संवाद हुन सकेको थिएन । संवाद टुटेको ११ दिनपछि प्रचण्ड शनिबार दिउँसो १ बजेपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
मन्त्रीपरिषदमा भएको हेरफेर, भारतीय गुप्तचर निकाय रअका प्रमुख सामान्तकुमार गोयलसँग प्रधानमन्त्रीले रातिमा गरेको भेटसहितका विषयलाई लिएर नेकपामा विवाद चुलिएको छ ।
गत बुधबार ओलीको सन्देश लिएर महासचिव विष्णु पौडेल र दिउँसो स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ पुगेका थिए, बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पुगेका थिए भने शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पुगेका थिए।
अहिले ओली र प्रचण्डबिच चिसिएको सम्बन्ध सुधारको प्रयासमा वार्ता भइरहेको हो।







