काठमाडौं,कात्तिक २१ : कोरोना भाइरसबाट संक्रमित भएका चर्चित हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर बनेको छ। कोरोना भाइरसको संक्रमणले अवस्था गम्भीर भएपछि गजुरेललाई आइसियूमा सारिएको छ ।
कात्तिक १० गते संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका गजुरेलको अवस्था जटिल बनेपछि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको छ। हिजोदेखि उनको आइसियूमा उपचार भइरहेको हो ।
कात्तिक १९ गते बुधबार अस्पताल भर्ना भएका गजुरेलको हाल आईसियूमा उपचार भइरहेको अस्पतालले जनाएको छ। उनलाई निमोनिया भएको आशंका गरिएको छ।
आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए। उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो।







