
काठमाडौं,कात्तिक २२ | कोरोना भाइरसबाट संक्रमित वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन् ।अघिल्लो दिनको तुलनामा ‘धेरै राम्रो’ भइरहेको उनको भनाइ छ ।
कार्तिक १० गते गजुरेलले आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए । गजुरेलको स्वास्थ्यमा समस्या भएपछि उनलाई बिहीबार सशस्त्र प्रहरी अस्पताल भर्ना गरिएको थियो ।
गजुरेलले शुक्रबार राति सामाजिक संजालबाट आफ्नो स्वास्थ्य राम्रो हुदै गएको बताएका छन् ।
गजुरेलले फेसबुकमा लेखेका छन्, ‘आराम छु, आरामको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ । स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद ।’
हाल उनको उपचार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसीयूमा भइरहेको छ । स्वास्थ्य परीक्षणपछि उनको फोक्सोमा पानी जमेको पाइएको चिकित्सकहरुले बताएका छन् ।