
काठमाडौं, मंसिर ६ | उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको समापन गरिएको छ । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।
व्रतालुहरूले आज पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ्य अर्पण गरेका थिए।
छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो ।
अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइने किवंदन्ती पाइन्छ ।
अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।विभिन्न पोखरी र तलाउमा श्रद्धालुले अर्घ दिएर छटपर्व सम्पन्न गरेका छन् ।