काठमाडौं, मंसिर १३ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना भएको पुष्टि गरेका हुन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका उनको परीक्षण नतिजा पोजेटिभ आएसँगै सेल्फ आइसोलेसनमा बसेका छन् ।
लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो। तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन्। होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका छन्, ‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु। तपाईंहरु मलाई आशिर्वाद दिनुस्।’
यसअघि मंगलबार १६ खेलाडीको पिसिआर परीक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको रिपोर्ट पोजेटिभ आएको थियो । तर खेलाडीमा कुनै लक्षण नदेखिएपछि डाक्टरको सल्लाहमा पुनः पिसिआर परिक्षण गरिएको थियो । शुक्रबार रोहित, ज्ञानेन्द्र र दीपेन्द्रले रिपोर्ट नेगेटिभ आएको छ ।







