
काठमाडौँ, मङ्सिर २२ । नेपाली आधुनिक संगीतका ज्येष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ । नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको कलाकार निर्मल शर्माले जानकारी दिए।
८५ वर्षका थापालाई कोरोना सङ्क्रमण पनि देखिएको थियो ।तर, कोरोनामुक्त भइसकेपछि उहाँलाई स्वास्थ्यमा समस्या देखिएको थियो ।
लामो समयदेखि अस्वस्थ्य रहेका थापाको एक महिनाभन्दा अघिदेखि नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
वि.स. १९९५ असार १७ मा जन्मिएका थापा २०२० देखि गायनमा सक्रिय रहँदै आउनु भएको थियो ।
वि.सं. २०१३ सालमा रेडियो नेपालबाट आफ्नो सांगीतिक तथा साहित्यिक यात्रा सुरू गरेका उनले २०१८ सालमा पहिलो गीत रेकर्ड गराएका थिए। उनले कोलकाताबाट हिज मास्टर्स भ्वाइसमा ‘माया लुकाइ लुक्दैन’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए। २०२१ सालमा उनले कथासंग्रह ‘पलाँसको फूल’ ल्याएका थिए।
उनले अहिलेसम्म पाँच वटा गीति एल्बम ल्याइसकेका छन्। जसमा ‘माया लुकाइ लुक्दैन’, ‘४० वर्षअघि र ४० वर्षपछि’, ‘मनको शान्ति’, ‘म पतझड तिमी मधुमास’, ‘म मक्किएको धुरी खाँबो’ छन्। उनी छैटौं एल्बम सार्वजनिक गर्ने तयारीमा थिए।