काठमाडौं,मंसिर २३ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालकै स्याटेलाइट राख्ने प्रक्रिया खारेज गरेको छ । २०७३ सालदेखि शुरु भएको प्रक्रिया खारेज भएको प्राधिकरणले जनाएको छ ।
अन्तर्राष्ट्रिय दूरसञ्चार संघले नेपालका लागि तय गरेको अर्बिटल पोजिसनमा सेटलाइट लञ्च गर्ने प्रक्रियाका लागि मागेको आशयपत्र बमोजिमको खरिद प्रक्रिया रद्द गरेको हो ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल नयाँ ल्याइएको भूउपग्रह सम्बन्धी नीतिअनुरुप नयाँ योजना तय गर्न पुरानो खरिद प्रक्रिया रद्द गरिएको बताउँछन् ।
प्राधिकरणले पहिले माग गरेको आशयपत्रमा आवश्यकताको विश्लेषण, डिजाइन, लन्चिङ, संचालन, व्यवस्थापनलगायत सबै एकमुष्ट रहेको तर नेपालमा यस सम्बन्धी विज्ञ नहुँदा अप्ठ्यारो परेको उनले बताए ।
अन्तर्राष्ट्रिय टेलिकम युनियनले नेपालका लागि उपलब्ध गराएको १२३।३ पूर्वी देशान्तरको स्लटमा स्याटेलाइट राख्न अनुमति दिएको थियो । युनियनले छुट्टाइएको स्लटमा स्याटेलाइट स्थापनाका लागि सञ्चार मन्त्रालयले गठन गरेको अध्ययन समितिले उक्त स्थानमा स्याटेलाइट स्थापना गर्न उपयुक्त नहुने तर्क राखेको थियो ।
प्राधिकरणले २०७३ असोजमा जारी गरेको सूचनाको आधारमा विभिन्न २१ वटा कम्पनीहरुले आवेदन दिएका थिए । प्राधिकरणले नयाँ आशयपत्र माग्ने विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग आवश्यक समन्वय गरिरहेको जनाएको छ । गत वर्ष नेपालले पहिलो स्याटलाइटका रूपमा नेपालिस्याट –१ अमेरिकाबाट लञ्च गरेको थियो । नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट)ले दुई करोड रुपैयाँ लगानीमा सो स्याटलाइट अन्तरिक्षमा पठाएको थियो । त्यस बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्याटलाइट प्रक्षेपण गर्ने मुलुकमा प्रवेश गरेको घोषणा गरेका थिए ।
समितिले स्याटेलाइट स्थापना गर्दा व्यावसायिक रूपमा नाफामूलक नहुने भन्दै अर्को स्लट माग गर्नुपर्ने आशयको प्रतिवेदन तयार पारेको थियो । उक्त समितिले नेपाललाई ८० डिग्री पूर्वी देशान्तरदेखि ८९ डिग्री पूर्वी देशान्तरको स्लट उपयुक्त हुने निष्कर्ष निकालेको थियो ।
नेपाली दूरसञ्चार सेवा प्रदायक, रेडियो तथा टेलिभिजनहरुले विदेशी सेटलाइट प्रयोग गरिरहेका छन् । त्यस बापत नेपाली कम्पनीहरुले वार्षिक करोडौं रुपैयाँ विदेशी सेटलाइट प्रदायकलाई तिर्दै आएका छन् ।







