
काठमाडौं, पुस २४ । प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न आज कैलालीको धनगढी जाँदैछन् ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न उनी धनगढी जान लागेका हुन ।
उनी बिहान नौ बजे धनगढी जाने पूर्वनिर्धारित कार्यक्रम छ । संसद विघटनपछि ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन् ।
प्रधानमन्त्री ओलीको भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलले जानकारी दिएको छ ।
नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको जनसभा धनगढीको खुलामन्चमा हुनेछ । त्यहाँ ५० हजार कार्यकर्ता उतार्ने दाबी गरिएको छ ।
जनसभाको सम्पूर्ण तयारी पूरा भएको र सुरक्षा व्यवस्था पनि चुस्त रहेको नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिए ।
‘दाहाल नेपाल’ समूहले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गर्दै आएको छ भने ओली समूहले निर्वाचनको तयारीमा जुट्न आग्रह गर्दै कार्यकर्ता भेला तथा प्रशिक्षणलाई निरन्तरता दिँदै आएको छ ।