प्युठान, फागुन १४ । कर्मचारी मिलन केन्द्र प्युठानको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता सञ्चालन भएको छ । मल्लरानी गाउँपालिका वडा नं ४ खंलगा स्थित ब्याडमिन्टन हलमा प्रतियोगिता सञ्चालन भएको हो ।
प्रतियोगितामा जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारी, प्रहरी, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, संगठित संस्थाका कर्मचारी , शिक्षक लगायतको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले प्रतियोगिता सञ्चालनले मनोरञ्जनसंगै कर्मचारीहरु तनावबाट मुक्त हुने बताए । खेलको माध्यमबाट व्यक्ति स्वस्थ्य समेत हुने भएकाले यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा उनको जोड थियो ।
आज र भोली चल्ने प्रतियोगितामा २६ टिमको सहभागीता रहेको प्रतियोगिताका संयोजक एवं प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । प्रतियोगितामा प्रथम, दृतिय र तृतीय हुनेलाई उचीत पुरुष्कारको समेत व्यवस्था गरिएको उनले बताए । पुरुस्कारको सौजन्य उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, लेकाली निर्माण सेवा, यातायात व्यवसायी संघले गरेका छन् । भोली हुने फाईनल खेल माण्डवी गाउँपालिका वडा नं ३ जस्पुर स्थित वुटवल पावर कम्पनी लिमिटेडको हलमा हुने समेत उनले बताए ।
कर्मचारी मिलन केन्द्र प्युठानले कर्मचारीहरुको बीचमा रचनात्मक र सिर्जनात्मक कामहरु गर्दै आएको केन्द्रका अध्यक्ष हरी पौडेलले जानकारी दिए । केन्द्रले विभिन्न प्रतियोगितासंगै पिकनिक कार्यक्रम, स्मारिका प्रकाशन गर्ने कामहरु गर्दै आएको उनको भनाई छ ।







