काठमाडौं फागुन १६ । आधा शताब्दीभन्दा बढी नि:शुल्क मेडिकल प्राक्टिस गर्ने चिकित्सक डा. शंकरप्रसाद उप्रेतीको ८८ वर्षको उमेरमा शनिबार राति निधन भएको छ ।
बिरामीबाट कुनै शुल्क नलिई उपचारमा खटिने उप्रेतीले आफ्नै बुलबुतामा भारतको कानपुरबाट २०१७ सालमा एमबीबीएस पढाइ पूरा गरेका थिए ।
५० वर्षसम्म बिरामीहरूको सेवा गरेका डा. उप्रेती राष्ट्रिय सभाका पूर्व सदस्य पनि हुन् । पछिल्लो समय पूर्णतः अवकास जीवन विताउँदै आएका डा. उप्रेती केही समयदेखि अस्वस्थ थिए ।
लेखक सञ्जीव उप्रेतीका पिता शंकरप्रसादलाई झापा जिल्लामा ‘आदर्श डाक्टर बा’का उपनामले चिनिन्छ । चिकित्सा पेसासँगै राजनीतिमा सक्रिय रहेका डा. उप्रेती पछिल्ला वर्ष काठमाडौंमा छोरा सञ्जीवका साथ बस्दै आएका थिए ।
स्व. उप्रेतीको अन्तिम संस्कार आइतबार बिहान पशुपति आर्यघाटमा गरिएको छ ।