
काठमाडौं, फागुन १८ । सरकारले विप्लव समूहसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । सरकारले विप्लव समूहसँग वार्ताका लागि मंगलबार वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।
गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा सरकारले वार्ता टोली गठन गरेको हो ।
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सरकारसँग वार्ता गर्न सकारात्मक रहेको यस अगाडि विज्ञप्ति सार्वजनिक गरेको थियो। विप्लवले सहज रुपमा गतिविधि र कार्यक्रम गर्ने वातावरण बने सरकारसँग वार्ता हुने बताएका थिए।
प्रतिनिधिसभा विघटन संसदीय पार्टीहरूको नकारात्मक परिघटना भए पनि त्यसबाट आफ्नो पार्टीले राजनीतिक फाइदा उठाउनुपर्ने विप्लवको निष्कर्ष छ। वैकल्पिक संयुक्त सरकारको विषयमा रणनीतिक संयुक्त मोर्चामा रहेका मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लवको पार्टी, ऋषि कट्टेलको नेकपा र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीबीच पनि समझदारी जुटेको जनाइएको छ। यी चार पार्टीको मोर्चा निर्माणका क्रममा यी राजनीतिक विकल्पबारे पनि छलफल भई समझदारी बनेको स्रोतको भनाइ छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघिमात्र विप्लवसँग छिट्टै वार्ता गर्ने जानकारी सार्वजनिक समारोहमा जानकारी गराउनुभएको थियो ।