काठमाडौं, बैशाख १० । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ५५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट आठ हजार ७९८ जनाको र एन्टिजेन विधिबाट ८६६ जनाको परीक्षण गरिएकोमा दुई हजार ५५९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये महिला एक हजार २३ र पुरुष एक हजार ४२६ रहेका छन् ।
योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ९४ हजार ६०१ पुगेको छ । जसमध्ये दुई लाख ७६ हजार ७५५ जना सङ्क्रमण मुक्त भई घर फर्किएका छन् । हाल देशभर १४ हजार ७२४ सक्रिय सङ्क्रमित छन् ।
यस्तै कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा पाँच जना मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १२२ जनाको मृत्यु भइसकेको छ ।







