काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलालाई राजनीतिक दल र सरकारी निकायमा ५० प्रतिशत प्रतिनिधित्व नगराएसम्म मुलुकमा परिवर्तन हुन नसक्ने बताएकी छन् ।
आज पत्रकारसँग कुराकानी गर्दै उनले भनिन्, ‘समतामुलक समाजका लागि ५० प्रतिशत महिलाको प्रतिनिधित्व गराउन सक्नुपर्छ ।’
अहिले महिलाको प्रतिनिधित्व एक तिहाई भए पनि नेतृत्वमा पछि परेको रेग्मीको भनाइ छ । उनले भएका ऐन, कानूनको कार्यान्वयन र आवश्यकता अनुसार संशोधन गरेर महिला र बालबालिकामाथि हुने गरेका आपराधिक कार्य रोक्न आफू लागिपर्नेसमेत बताएकी छन् ।
नेपाल महिला संघकी केन्द्रीय अध्यक्षसमेत रहेकी मन्त्री रेग्मीले आफूले राजनीतिक जीवनमा महिला, बालबालिका र ज्येष्ठ नागरिकले भोगेका पीडा नजिकबाट बुझेकोले पनि यो मन्त्रालय रोजेको समेत बताइन् ।







