काठमाडौँ । कार्यतालिका अनुसार तल्लो तहको अधिवेशन हुन नसक्दा सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित हुने सम्भावना बढेको छ ।
मंसिर ९ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको कांग्रेसको १३ वटा जिल्लामा वडा अधिवेशन पनि सुरू हुन सकेको छैन ।
तल्लो तहको अधिवेशन प्रारम्भ भएको ६४ जिल्लामध्ये १३ वटामा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
१३ मध्ये गोरखामा दुई निर्वाचन क्षेत्र भएकाले १४ वटा निर्वाचन क्षेत्रमा अधिवेशन भएको छ भने बाँकी जिल्लामा पालिकासम्म मात्र अधिवेशन भएको घिमिरे बताउँछन् ।
क्रियाशील सदस्यता विवादका कारण प्रदेश नम्बर २ को ८ जिल्लासहित डोल्पा, कैलाली, बाँके, सुर्खेत र रसुवामा वडा अधिवेशन नै सकिएको छैन । यी १३ जिल्लामध्ये अहिले बारा, रसुवा र रौटहट जिल्लाको विवाद समाधान हुन सकेको छैन । बाँकी जिल्लाको विवाद टुंगिए पनि एकैपटक अधिवेशन प्रक्रिया अघि बढाउने भनेर निर्वाचन समितिले तल्लो तहको अधिवेशन सुरू गरेको छैन ।
निर्वाचन समितिका संयोजक घिमिरेका अनुसार डोल्पामा भने एक/दुई दिनभित्रै जिल्ला निर्वाचन अधिकृत पठाएर वडा अधिवेशन सुरू गरिने भएको छ । यसअघिको सहमतिअनुसार २१ वटा हिमाली जिल्लाको जिल्ला अधिवेशन दशैँअगावै गरिसक्ने भनिए पनि ८ वटा हिमाली जिल्लाको पालिकाभन्दा माथिको अधिवेशन हुन सकेन । हिमाली जिल्लाको सवालमा केही दिनभित्रै अधिवेशन सुरू गरिने निर्वाचन समितिले जनाएको छ । नेपाल समाचारपत्र दैनिक







