काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन आयोजना गर्ने क्षमता नै समाप्त भइसकेको बताएका छन् ।
आज शनिबार सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने भएपनि अझै नगरेको भन्दै कांग्रेसमा महाधिवेशन गर्ने क्षमता नै नभएको बताएका हुन् । उनले भने,‘महाधिवेशन आयोजना गर्ने क्षमता नै कांग्रेससँग समाप्त भइसक्यो ।’
यसका साथै एमालेले असोज १५–१७ मा विधान महाधिवेशन गरेको र मंसिरमा अर्को महाधिवेशन गर्ने जानकारी गराउँदै उनले भने, ‘असाधारण जनउपस्थितिका साथ महाधिवेशन हुनेछ । एमालेको क्षमता देखेर दुनियाँ आश्चर्यचकित हुनेछ ।’







