काठमाडौँ । सरकारले गरीब तथा विपन्न परिवारलाई १० हजार रुपैयाँ नगद वितरण गर्ने प्रक्रिया अघि बढाएको छ ।
आज बुधबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले कोरोना महामारीबाट प्रभावित गरीब तथा विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि जारी गरेको हो ।
कोरोना भाइरसका कारण रोजगारी तथा आय आर्जनको अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका अतिविपन्न परिवारको तत्कालको न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न नगद राहत उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।
कार्यविधिअनुसार राहतस्वरूप प्रतिपरिवार १० हजार रुपैयाँका दरले नगद प्रदान गरिने छ ।







