पानी बनेस् है, छोरा !
~~~~~~~~~~~~~
टीका लगाउने बेलामा,
आँखाबाट टिलपिल टिलपिल आँसु झार्दै,
आमा आशीर्वाद दिँदै भन्नुहुन्छ –
बाबु ! पानी बनेस् है, छोरा ।
तिमी पानी बन्नू,
अनि कसैको दु:खलाई
आँखाबाट आँसु बनी बगाइदिनू ।
छोरा, पानी बन्नू अनि
मरुभूमिमा छटपटाइरहेको कसैको जीवनमा
आशाको वर्षात ल्याउनू ।
कसैलाई गर्मी लाग्दा,
तिमी चिसो पानी बनिदिनू ।
कसैलाई चिसोले सताएको बेला,
तिमी तातो पानी बनिदिनू ।
त्यसैले बाबु, तिमी पानी बन्नू !
छोरा, तिमी पानी बनेर बग्नू,
समाजमा चेतनाको मूल फुटाउनू ।
कहिले वर्षा,
कहिले छहरा,
कहिले झरना,
त कहिले खोला बनेर बगिरहनू,
अनि नदी भेटाउनू ।
मलाई विश्वास छ, छोरा –
एकदिन तिमी अवश्य
विशाल अनि शान्त,
समुद्र बन्ने छौं ।
बाबु ! तिमी पानी बनेर बग्नू,
अनि आफ्नो बाटो आफैं बनाउनू ।
कठिन उकालो हैन,
आफ्नो गन्तव्यलाई
सरल ओरालो बनाउनू ।
अनि निरन्तर बगिरहनू ।
शत्रुहरुले रोक्न खोज्लान्, बाटो छेक्लान्,
नझुक्नू, नडराउनू अनि अघि बढिरहनू त्यसरी नै,
जसरी खोलाले समुद्रलाई पछ्याउँछ ।
त्यसैले बाबु, तिमी पानी बन्नू है !
मेरो छोरा ! तिमी पानी बने है ।
© लेखक – समीर सापकोटा क्षेत्री