प्युठान, वैशाख ४ । दिल्ली क्यापिटल्सले बुधबार सम्पन्न इण्डियन प्रिमियर लिग (आईपीएल) को रोमाञ्चक खेलमा राजस्थान रोयल्सलाई सुपर ओभरमा पराजित गर्दै प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ।
अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८८ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले पनि ४ विकेटको क्षतिमा १८८ रन जोड्दै खेललाई सुपर ओभरसम्म पुर्याएको थियो।
सुपर ओभरमा राजस्थानले दिएको १२ रनको लक्ष्य दिल्लीले दुई बल बाँकी रहँदै सजिलै पूरा गर्यो।
यो जितसँगै दिल्लीले अहिलेसम्म खेलेका ५ सुपर ओभरमध्ये ४ मा जित निकालेको छ, जुन आईपीएल इतिहासमै सबैभन्दा धेरै हो।
यस जितपछि दिल्ली ६ खेलमा ५ जितसहित लिगको शीर्ष स्थानमा पुगेको छ, जसले प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ।
