प्यूठान। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अन्तर्गतको युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल), स्वर्गद्वारी नगर कमिटीको अध्यक्षमा पुनाराम घर्ति मगर निर्विरोध निर्वाचित भएका छन्।
शनिबार जलुकेमा आयोजित भव्य अधिवेशनमार्फत घर्ति मगरको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
कार्यक्रममा वाईसीएलको सांगठनिक सुदृढीकरण तथा युवा नेतृत्वको सशक्त भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री कृष्णधोज खड्का, माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिव कृष्णप्रसाद अधिकारी (प्रकाश), जिल्ला समन्वय समिति उपप्रमुख दुर्गा रेग्मी, नगर अध्यक्ष टेकबहादुर भट्टराई, वाईसीएल लुम्बिनी प्रदेश अध्यक्ष मुकेश थापा र जिल्ला अध्यक्ष मोहन परियार लगायत नेताहरूको उल्लेखनीय उपस्थिति थियो।
नव-निर्वाचित अध्यक्ष घर्ति मगरले संगठनलाई जनस्तरमा अझ सशक्त बनाउने, युवाहरूलाई सामाजिक रूपान्तरणमा अग्रसर गराउने र पार्टीको नीति तथा कार्यक्रम कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमले वाईसीएल स्वर्गद्वारीमा नेतृत्वको नयाँ ऊर्जा, स्पष्ट दिशा र युवा परिचालनको सशक्त सम्भावना देखाएको छ।







