प्युठान। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) को पछिल्लो टी–२० अलराउन्डर वरीयतामा फेरि दोस्रो स्थानमा उक्लिएका छन्।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा ऐरी एक स्थान सुधार गर्दै दोस्रो स्थानमा पुगेका हुन्। यसअघि दोस्रो स्थानमा रहेका वेस्ट इन्डिजका रोस्टन चेज सात स्थान खस्कँदै नवौं स्थानमा झरेपछि ऐरीले पुनः दोस्रो स्थान ओगटेका हुन्। भारतका हार्दिक पान्ड्या भने यो सूचीमा शीर्ष स्थानमा कायम छन्, भने अफगानिस्तानका मोहम्मद नबी तेस्रो स्थानमा छन्।
अन्य नेपाली खेलाडीहरूमा कुशल भुर्तेल ३४औं, गुल्सन झा ५८औं, रोहित पौडेल ६८औं, कुशल मल्ल ६९औं र करण केसी ८७औं स्थानमा छन्।
ब्याटिङ र बलिङ वरीयतामा पनि नेपाली खेलाडीहरूको उपस्थिति
टी–२० ब्याटिङ वरीयतामा दीपेन्द्रसिंह ऐरी दुई स्थान तल झर्दै ६३औं स्थानमा छन्। यस सूचीमा रोहित पौडेल ६७औं, आसिफ शेख ७९औं र कुशल भुर्तेल ८५औं स्थानमा छन्। यस वरीयतामा भारतका अभिषेक शर्मा पहिलो, अस्ट्रेलियाका ट्राभिस हेड दोस्रो र भारतकै तिलक वर्मा तेस्रो स्थानमा रहेका छन्।
बलिङ वरीयताको कुरा गर्दा, ऐरी पाँच स्थान तल झर्दै ८२औं स्थानमा छन्। नेपालका ललित राजवंशी ५६औं र सन्दीप लामिछाने ७६औं स्थानमा छन्। यो सूचीमा न्युजिल्यान्डका ज्याकोब डुफी शीर्ष स्थानमा छन् भने इङ्ल्यान्डका आदिल रशिद दोस्रो र भारतका वरुण चक्रवर्ती तेस्रो स्थानमा छन्।







