
सुचनाडबली सहकर्मी /८ माघ, काठमाडौं । उमेश यादव दाह्री-कपाल काटेर चिरिच्याट्ट बनेका छन् । चिटिक्क मिलेको जुंगा राखेका छन् । खाडीको हावाले सेतै फुलाएको कपालमा कालो दलेका छन् । अनुहार फेसियल पनि गरेका छन् ।
यसैले उनको अनुहारमा चमक छ ।

उनले १३ वर्षपछि काठमाडौंको माटो टेकेका छन् । १८ दिनमा छाडेर गएका छोरा कस्तो भए होलान् ? तीन वर्षको जेठो छोराको त जुँगा आउन थाल्यो होला । श्रीमती के गर्दै होलिन् ? अनि आमा – बा कस्तो भए ! उनलाई देख्ने व्यग्र चाहना छ ।
तर उमेशलाई यो भन्दा बढी चिन्ता विवेक दाहालको छ, जसलाई साउदीको जेनरल कोर्टले फाँसीको सजाय सुनाइएको छ । ‘म जेलबाट निस्कने भएपछि उसले दुई दिनदेखि खाना खाएको थिएन । आज विहान मसँग रुँदै कुरा गरेको थियो । १४ वर्ष भइसक्यो उ जेल परेको’ उमेश भन्छन्, ‘उसका लागि म भोलि नै परराष्ट्र मन्त्रालय गएर उजुरी गर्छु । नेपालीलाई त्यसरी मर्न दिएर म कसरी खुशी हुन सक्छु र !’
यदि सरोज राय हुँदैनथे भने धनुषाका उमेश शायद फाँसीमा चढिसकेका हुन्थे । पहिला दुई पैतला काटिन्थ्यो, अनि घाँटी । अदालतले यस्तै सजाय सुनाएको थियो ।
तर, पासा पल्टियो, बुधबार रातको दुई बजे ३८ वर्षका उमेशले नयाँ जीवन पाए ।
०००
मेनपावर कम्पनीलाई एक लाख ४० हजार रुपैयाँ बुझाएर उमेश २००७ मा साउदी अवर पुगेका थिए । काम थियो भवन निर्माण, तलव साढे पाँच सय रिअल ।