जितेन्द्र थारुु भैरहवा ,४ चैत रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर १ ठुटीपिपलमा सुत्केरी तथा गर्भवती महिलाहरुलाई पोषण सामाग्री तथा पोषण छाप झोला वितरण गरिएको छ । सामुदायिक स्वास्थ्य इकाई ठुटीपिपल तथा वडा नं. १ को आयोजना तथा वडा नं. १ को आर्थिक सहयोगमा वडा नम्बर १ अन्तर्गतका सुत्केरी तथा गर्भवती महिलाहरुको पोषण अवस्था सुधारका लागि पोषण सामाग्री र पोषण छाप झोला वितरण गरिएको हो । सामुदायिक स्वास्थ्य इकाईले लगातार ४ पटकसम्म स्वास्थ्य इकाईमा स्वास्थ्य परिक्षण गराएका गर्भवती महिलाहरुलाई एक कार्यक्रमका बीच अण्डा, जिरा, मेथी, ज्वानो, सर्फ, नुन, नुहाउने साबुन, बेबी पाउडर, सेनेटरी प्याड, पोषण छाप झोला आदि सामाग्री वितरण गरेको थियो ।
ग्रामीण क्षेत्रमा अझैं पनि सुत्केरी भए पश्चात् स्वास्थ्य परिक्षण गराउनेको संख्या एकदमै न्यून रहेको कारण स्वास्थ्य परिक्षण गराउनका लागि प्रोत्साहन स्वरुप पोषण सामाग्री तथा झोला वितरण गरिएको स्वास्थ्य इकाई प्रमुख राम प्रसाद ढकालले बताउनु भयो । साथै सामुदायिक स्वास्थ्य इकाईले औपचारिक रुपमा मधुमेह (सुगर) र ब्लडप्रेसरको औषधी निःशुल्क वितरण गर्न सुरु गरिएको प्रमुख ढकालले जानकारी दिनुभयो । कार्यक्रममा ओमसतिया गाउँपालिकाका प्रमुख हिरा केवट (राहुल), प्रमुख प्राशासकीय अधिकृत दुर्गा प्रसाद पौडेल, लेखा अधिकृत कमल प्रसाद शर्मा, वडा नंं. १ का वडाअध्यक्ष बेल बहादुर बराल लगायत स्वयम्सेविकाहरुको सहभागिता रहेको थियो ।